- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरुलाई कुनै पनि फुटबल प्रतियोगितामा सहभागी गराउन नपाइने चेतावनी दिँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।
आज विभागले एन्फालाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो। यसअघि राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीहरूलाई सहभागी गराएको उजुरी विभागमा परेको थियो।
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार, विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन पाउँदैनन्। यसैले एन्फाले कुनै पनि विदेशी खेलाडीलाई खेलमा समावेश गर्नु परेमा नियमअनुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गरिएको छ।
विभागले आजैदेखि अनुगमन सुरु गरेको जानकारी दिँदै चेतावनी दिएको छ कि स्वीकृति नलिएका विदेशी खेलाडीले कुनै खेलमा भाग लिँदा भिसा उल्लङ्घन मानिनेछ र तत्काल कार्वाही गरिनेछ।