Thursday, April 16, 2026

खाडीमा युद्ध चर्किँदै: ग्यास केन्द्रहरू निशानामा, अमेरिकाभित्रै बढ्यो विरोध


५ चैत, काठमाडौं - अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व २०औँ दिनमा प्रवेश गर्दा खाडी क्षेत्रमा तनाव झनै तीव्र बनेको छ। इरानले बुधबार राति कतारको प्रमुख ग्यास प्रशोधन केन्द्र ‘रास लाफान’ मा क्षेप्यास्त्र आक्रमण गरेको छ, जसपछि त्यहाँ आगलागी र ठूलो क्षति भएको जनाइएको छ।

कतारले उक्त आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै नागरिक र महत्वपूर्ण पूर्वाधारमाथि गरिएको आक्रमणलाई ‘लक्ष्मणरेखा पार गरेको’ भन्दै कडा प्रतिक्रिया दिएको छ। साथै, क्षेत्रीय स्थिरता जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीले सुरक्षा अधिकारी अली लारिजानीको हत्या प्रकरणको बदला लिने चेतावनी दिएका छन्। उनले प्रत्येक ‘रगतको हिसाब चुकाइने’ भन्दै कडा सन्देश दिएका छन्।

अर्कोतर्फ, अमेरिका र इजरायलले दक्षिणी इरानस्थित साउथ पार्स ग्यास फिल्ड तथा असालुयेह क्षेत्रका ऊर्जा संरचनामाथि हवाई आक्रमण गरेका छन्। विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिने उक्त क्षेत्रमा गरिएको आक्रमणले ऊर्जा पूर्वाधारमा उल्लेखनीय क्षति पुर्‍याएको बताइएको छ।

यस घटनापछि इरानले खाडी मुलुकहरूमा थप आक्रमणको चेतावनी दिएको छ भने रिभोलुसनरी गार्डले साउदी अरब, यूएई र कतारका ऊर्जा केन्द्रहरूबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

उता, अमेरिकाभित्रै युद्ध खर्चलाई लिएर विवाद चुलिएको छ। पेन्टागनले इरानसँगको युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेट मागेपछि कंग्रेसमा तीव्र बहस हुने संकेत देखिएको छ। अमेरिकी सांसद क्रिस भ्यान होलेनले यस्तो फन्डिङको विरोध गर्दै युद्धले देशलाई सुरक्षित नबनाउने दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायलको आक्रमणप्रति असन्तुष्टि जनाउँदै साउथ पार्स क्षेत्रमा थप आक्रमण नहुने बताएका छन्। उनले उक्त आक्रमणबारे अमेरिकालाई पूर्वजानकारी नभएको स्पष्ट पार्दै कतारको कुनै संलग्नता नरहेको पनि उल्लेख गरेका छन्।

मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र प्रतिआक्रमणले क्षेत्रीय सुरक्षा मात्र नभई विश्व ऊर्जा आपूर्तिमा समेत गम्भीर असर पार्ने चिन्ता बढ्दै गएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like