Thursday, April 16, 2026

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: १८ करोडभन्दा बढी बिगो दाबी, सुनुवाइ बुधबार


काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयका नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि उक्त मुद्दा २०८२ जेठ २२ गते विशेष अदालतमा दर्ता गरिएको थियो।

अख्तियारका अनुसार पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुट दिने सम्बन्धी मन्त्रिपरिषद् र विधेयक समितिको २०६६ माघ १८ गतेको निर्णय कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक मालपोत कार्यालयमा पछि मात्र पत्राचार गरिएको देखिएको छ।

तर सोभन्दा अघि नै तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनमा सम्बन्धित मन्त्रालयमार्फत उक्त कम्पनीलाई हदभन्दा बढी जग्गा बेचबिखन तथा सट्टापट्टा गर्न मिल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको आरोप छ।

२०६६ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जली योगपीठलाई त्यसअघि खरिद गरिएका चलालगणेशस्थान, साँगा तथा महेन्द्रज्योति गाविसका हदभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टाका लागि स्वीकृति दिएको अख्तियारको दाबी छ।

सोही निर्णय कार्यान्वयनका लागि तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेमार्फत पत्राचार गरिएको पनि उल्लेख गरिएको छ। साथै, मन्त्रिपरिषद् र विधेयक समितिको निर्णयअघि नै २०६५ चैत १५ गते सनराइज बैंक लिमिटेडबाट उक्त जग्गा धितो राखी कर्जा प्रवाह गरिएको तथ्यसमेत खुलेको छ।

अब उक्त मुद्दामा विशेष अदालतमा हुने सुनुवाइले प्रकरणको थप कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like