काठमाडौं - नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले महाधिवेशनको वैधानिक निर्णयबिना कुनै पनि व्यक्तिको क्रियाशील सदस्यता खारेज गर्न नसकिने स्पष्ट पारेका छन्।
कार्यवाहक सभापतिको हैसियतमा सोमबार जारी विज्ञप्तिमा उनले क्रियाशील सदस्यतालाई पार्टीसँगको आबद्धताको प्रमाण मात्र नभई संगठनको ऐतिहासिक योगदान र निरन्तरतासँग जोडिएको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन्।
खड्काले पार्टीभित्रको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु बदनियतपूर्ण भएको आरोपसमेत लगाएका छन्।
उनका अनुसार, २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न हुने तय गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका भित्र रहेर नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यता खारेज गरिएको भन्ने दाबी पूर्ण रूपमा अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक छ।
यसैबीच, पार्टीका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता खारेज गर्ने विषयमा गलत बुझाइ फैलिएको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टीले सदस्यता खारेज नभई अद्यावधिक गर्ने प्रक्रिया मात्र अघि बढाएको बताएका छन्।
केही दिनअघि कांग्रेसले पुराना सदस्यता खारेज गरी नयाँ वितरण गर्ने चर्चा बाहिरिएपछि पार्टीभित्र विवाद चर्किएको थियो।