- by समाचार कक्ष
- Mar 06, 2025
२५ वैशाख, काठमाडौं । हर्क साम्पाङले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत गरिएको प्रधानन्यायाधीश सिफारिसप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको निर्णयलाई सरकारको गम्भीर गल्तीको संज्ञा दिएका हुन् ।
शुक्रबार जारी विज्ञप्तिमा साम्पाङले संसद् छल्दै राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गरेर अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन् । उनले स्थापित वरीयता प्रणालीलाई बेवास्ता गर्दै गरिएको नियुक्ति सिफारिसले विधिको शासनमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।
सुशासन र थितिको नारासहित सत्तामा पुगेको दलले नै कानुनी प्रक्रिया मिचेर निर्णय गरेको भन्दै उनले यसमा राजनीतिक तथा कानुनी स्वार्थ जोडिएको आशंका व्यक्त गरेका छन् । सहकारी ठगी प्रकरण तथा जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा आफूअनुकूल फैसला गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हुन सक्ने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।
साम्पाङले नियुक्ति प्रक्रियाका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर प्रभाव र दबाब सिर्जना गरिएको आरोप समेत लगाएका छन् ।
यस्तै, उक्त निर्णयमा हस्ताक्षर गरेको भन्दै रुबीकुमारी ठाकुर प्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखले वरीयता उल्लङ्घन गरिएको निर्णयमा समर्थन जनाएको भन्दै उनले त्यसलाई खेदपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।
श्रम संस्कृति पार्टीले विधि र प्रक्रियाविपरीत हुने यस्ता गतिविधिको निरन्तर विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।