- by समाचार कक्ष
- Mar 06, 2025
नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जिम्मेवार नदेखिएको आरोप लगाउँदै उनलाई “जिम्मेवारीको पाठ” सिकाउन आवश्यक रहेको बताएकी छिन् ।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रधानमन्त्रीले लगातार संसद्लाई बेवास्ता गरिरहेको भन्दै त्यसविरुद्ध आफूहरू विरोधमा उत्रिएको स्पष्ट पारिन् ।
उनले प्रधानमन्त्रीले संसदीय उत्तरदायित्वलाई गम्भीर रूपमा नलिएको टिप्पणी गर्दै संसद्को गरिमा जोगाउन दबाब दिनुपर्ने अवस्था आएको बताइन् ।
अर्यालले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख गर्दै त्यसको सुनिश्चितता नभएसम्म संसद्मा विषय टेबुल गर्न नदिने चेतावनी दिइन् ।
उनले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा अर्थमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको भए पनि अन्तिम जवाफ दिने क्रममा प्रधानमन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने धारणा राखिन् ।
“प्रधानमन्त्री आउनु राम्रो हो, नआउने अवस्था भए प्रतिनिधिमार्फत टेबुल हुन सक्छ । तर जवाफ दिने बेला उहाँ उपस्थित हुने सुनिश्चितता चाहिन्छ,” उनले भनिन्, “त्यो ग्यारेन्टीबिना हामी संसद् सञ्चालन सहज हुन दिँदैनौँ ।”