- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह आफ्नो संवैधानिक तथा संसदीय दायित्वबाट पन्छिन खोजिरहेको आरोप लगाएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री तयार नदेखिएको बताएका हुन् ।
उनले संसदीय लोकतन्त्रमा संसद्को गरिमा उच्च हुने उल्लेख गर्दै प्रधानमन्त्री संसद् र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने धारणा राखे । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रम मूलतः प्रधानमन्त्रीकै अवधारणा भएकाले त्यससम्बन्धी जिज्ञासा र प्रश्नको जवाफ पनि प्रधानमन्त्री स्वयंले दिनुपर्ने उनको भनाइ थियो ।
भट्टराईले संसद्मा उपस्थित हुनु, छलफलमा उठेका विषय स्पष्ट पार्नु तथा संसद्का निर्णय र निर्देशन कार्यान्वयन गर्नु प्रधानमन्त्रीको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले प्रश्न गर्दै भने, “प्रधानमन्त्री किन आफ्नो संवैधानिक जिम्मेवारीबाट टाढिन खोजिरहेका छन् ?”
अन्य लोकतान्त्रिक मुलुकको अभ्यास उल्लेख गर्दै उनले प्रधानमन्त्रीहरूले संसद्मार्फत विशेष सम्बोधन गर्ने, विदेश भ्रमणबारे जानकारी दिने तथा रोस्टममा उभिएर बोल्नुलाई गौरवको विषय मान्ने गरेको बताए ।
नेपालमा भने युवा नेतृत्वलाई संसदीय अभ्यासप्रति पर्याप्त चासो नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए । संसद्लाई बेवास्ता गरेर वा प्रक्रियालाई छल्दै अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यअनुकूल नहुने उनको भनाइ थियो ।