Monday, June 1, 2026

‘प्रतिद्वन्द्वी होइन, साझेदार बनौँ’ : ट्रम्पको प्रशंसापछि सी जिनपिङको अमेरिका–चीन सम्बन्धमा नयाँ प्रस्ताव


काठमाडौँ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच जारी द्विपक्षीय वार्ताका क्रममा चीनले अमेरिका–चीन सम्बन्धलाई प्रतिस्पर्धाभन्दा साझेदारीतर्फ अघि बढाउन प्रस्ताव गरेको छ ।

भेटवार्ताका क्रममा राष्ट्रपति सी जिनपिङले दुई मुलुकले एकअर्काको सफलता र समृद्धिमा सहकार्य गर्दै नयाँ युगअनुसारको सम्बन्ध विकास गर्नुपर्ने बताएका हुन् । उनले अमेरिका र चीनबीचको सम्बन्धलाई सही दिशामा अघि बढाउन आफू ट्रम्पसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग अमेरिकाको सम्बन्ध सकारात्मक रहेको र विभिन्न समस्याहरू वार्ता तथा संवादमार्फत समाधान हुँदै आएको बताएका थिए । उनले फोन संवादबाट समेत दुई देशबीचका जटिल विषयहरू समाधान गरिएको उल्लेख गरे ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्दै उनलाई “महान नेता”को संज्ञा दिएका थिए । साथै, उनले आफ्नो भ्रमणमा विश्वका उत्कृष्ट व्यापारिक नेताहरूलाई समेत साथमा ल्याएको बताउँदै ती व्यक्तिहरू चीनप्रति सम्मान प्रकट गर्न आएको उल्लेख गरे ।

अमेरिकी राष्ट्रपतिले भविष्यमा अमेरिका-चीन सम्बन्ध अझ मजबुत र सकारात्मक बन्ने विश्वास व्यक्त गरे ।

यता, सी जिनपिङले विश्वले हाल तीव्र परिवर्तन र अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै दुई शक्तिशाली राष्ट्रबीच सहकार्य र समझदारीको आवश्यकता झन् बढेको बताए । उनले सन् २०२६ लाई अमेरिका–चीन सम्बन्धमा नयाँ अध्याय सुरु हुने ऐतिहासिक वर्ष बनाउन चाहेको धारणा पनि राखे ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like