- by समाचार कक्ष
- Mar 06, 2025
१४ माघ, काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित प्रवेश कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सुदृढ पार्न एकता अहिलेको अपरिहार्य आवश्यकता भएको बताए। उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मुख्यधारामा फर्किन आग्रह गरे।
प्रचण्डले समाजवादी मोर्चादेखि नै एकताका लागि गम्भीर संवाद चलिरहेको उल्लेख गर्दै, पछिल्लो पटक एकता लगभग नजिक पुगे पनि सफल नहुने कारणहरू रहेको बताए। जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक रूपमा अन्योल र विचलनतर्फ गएको प्रचण्डले टिप्पणी गरे।
आफ्नो पार्टीले पनि आत्मसमीक्षा गरेर एकताको मार्ग रोजेको बताउँदै, प्रचण्डले विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको स्पष्ट पारे। उनले भने, “वास्तविक घर यही हो, यताउता भौंतारिएर केही हासिल हुँदैन। आत्मसमीक्षा गरी एकतामा फर्किनुभयो भने हामी स्वागत गर्न तयार छौं।”