Sunday, May 31, 2026

प्रचण्डको स्वास्थ्यमा सुधार, भोलिसम्म डिस्चार्ज हुन सक्ने


काठमाडौं । अस्पतालमा उपचाररत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्यमा यस्तै सुधार जारी रहेमा उनलाई भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने सम्भावना रहेको छ।

प्रचण्डलाई केही दिनदेखि ज्वरो आएपछि शनिबार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनलाई हल्का निमोनिया (माइल्ड निमोनिया) देखिएपछि चिकित्सकले अस्पतालमै राखेर उपचार गर्न सुझाव दिएका थिए।

अस्पतालमा प्रचण्डलाई भेट्न पुगेका नेता माधव सापकोटाले चिकित्सकको भनाइ उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए। उनका अनुसार उपचारको सकारात्मक प्रभाव देखिएको छ र अवस्था स्थिर बन्दै गएको छ।

पारिवारिक स्रोतका अनुसार प्रचण्ड सुदूरपश्चिममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि अस्वस्थ भएका थिए। धनगढीको अत्यधिक गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ। काठमाडौं फर्किएलगत्तै ज्वरो देखिए पनि उनी केही दिनसम्म पार्टी गतिविधिमा सक्रिय नै रहेका थिए।

युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि सामाजिक सञ्जालमार्फत प्रचण्डको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन्। उनले उपचार जारी रहेको र चिकित्सकको निगरानीमा केही दिन अस्पतालमै रहने उल्लेख गरेका छन्।

स्वास्थ्य समस्याकै कारण प्रचण्ड जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने दिनको बैठकमा समेत सहभागी हुन सकेका थिएनन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like