- by समाचार कक्ष
- Mar 06, 2025
बागलुङ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिनुपर्ने असाधारण अवसरको रूपमा लिने सुझाव दिएका छन्।
बागलुङ बुर्तिबाङका जनता, मतदाता र नेताकार्यकर्तासँगको संवादमा उनले भने कि राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थितिका कारण हुन पुगेको हो।
प्रचण्डले भदौ २३–२४ का घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको र त्यसबेला आफू र सहसंयोजक माधव नेपालले विवेकपूर्ण पहल गरेर संकट टार्न सफल भएको बताए। उनले ती घटनाका उद्देश्य केवल जलाउने र लुट्ने मात्र नभई, राष्ट्रपति हटाएर कठपुतली सरकार बनाउन र नेपाललाई युक्रेनजस्तो संकटमा धकेल्ने रहेको बताएका छन्।
उनले संविधान केही हदसम्म ‘घाइते’ भएको र यसको रक्षा अब राष्ट्रवादी शक्तिको जिम्मेवारी भएको बताए। प्रचण्डका अनुसार यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा नभई विदेशी शक्तिको प्रभावमा देश अस्थिर पार्न खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको निर्णायक लडाइँ हो।
उनले विश्व राजनीतिक परिदृश्यको नयाँ चरणमा नेपालजस्तो सानो देशलाई ठूला शक्तिको द्वन्द्वमा दुरुपयोग गर्न नहुने भन्दै, नेपालको भूगोल र स्रोतसाधन विदेशी द्वन्द्वको उपकरण बन्न नदिन सजग रहन आग्रह गरे।
प्रचण्डले युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै विदेशी हस्तक्षेपको जोखिमप्रति चेतावनी दिए र देशभित्र आपसी द्वन्द्व र अस्थिरता नहोस् भन्ने आग्रह पनि व्यक्त गरे।