पोखरा । पोखरा महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको अवस्था पछिल्लो समय उल्लेखनीय रूपमा सुधारिएको छ। शिक्षा क्षेत्रमा महानगरले अवलम्बन गरेका नीतिगत तथा व्यावहारिक कदमहरूले सकारात्मक परिणाम दिन थालेपछि सरकारी विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण उल्लेख्य रूपमा बढेको छ।
मेयर धनराज आचार्यका अनुसार नेतृत्व सम्हालेयता सामुदायिक विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन्। विगतमा विद्यार्थी अभाव झेल्ने गरेका विद्यालयहरूमा अहिले भर्ना पाउन कठिन हुने अवस्था सिर्जना भएको छ।
महानगरका केही विद्यालयहरूमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयहरू सक्षम बन्दै गएको संकेत गर्दछ। शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगरले ५५ बुँदे सुधार योजना कार्यान्वयनमा ल्याएको छ, जसले भौतिक पूर्वाधारसँगै शिक्षक तथा व्यवस्थापन पक्षमा आत्मविश्वास बढाएको बताइएको छ।
यसैबीच, विकास बजेटको वितरण प्रणालीमा पनि व्यापक परिवर्तन गरिएको छ। मेयर आचार्यले बजेटलाई तल्लो तहसम्म पुर्याउने उद्देश्यले विकेन्द्रीकरणलाई प्राथमिकता दिएका छन्।
उनका अनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले पाँच वर्षमा पाउने बजेट बराबरको रकम अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन्। वडा तहलाई प्रशासनिक तथा आर्थिक रूपमा सशक्त बनाउँदा मात्र समग्र महानगरको विकास सम्भव हुने उनको धारणा छ।
साना–ठूला सबै योजनालाई तीव्रता दिन एक वडा अध्यक्षले सामान्यतया २५ वर्षमा पाउने बजेट बराबरको रकम एकै वर्षमा वडामा पठाइएको उनले उल्लेख गरेका छन्। वडा स्तरमा भइरहेका तीव्र विकास कार्यहरूले महानगरको स्वरूप परिवर्तन हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
पहिले बजेटका लागि माथिल्लो निकायमा निर्भर रहनुपर्ने अवस्था रहेकोमा अहिले स्थानीय आवश्यकताअनुसार वडाबाटै द्रुत गतिमा काम अघि बढिरहेको छ।