- by समाचार कक्ष
- Mar 06, 2025
९ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इरानका ऊर्जा संरचनामाथि आक्रमण भए महत्वपूर्ण समुद्री मार्ग ‘होर्मुज स्ट्रेट’ पूर्ण रूपमा बन्द गरिने चेतावनी दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल उक्त जलमार्ग बन्द नभएको स्पष्ट पार्दै अमेरिका र इजरायलको गतिविधिका कारण समुद्री जहाजहरूको आवतजावतमा त्रास उत्पन्न भएको बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा आईआरजीसीले ऊर्जा स्थलमा हमला भए पुनर्निर्माण नहुँदासम्म उक्त मार्ग बन्द गरिने जनाएको हो।
इरानसँग जोडिएको होर्मुज स्ट्रेट फारसको खाडी, ओमानको खाडी र अरब सागर जोड्ने अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग हो। यही मार्गमार्फत विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ ओसारपसार हुने गर्दछ।
अमेरिका–इजरायलसँगको बढ्दो तनावका कारण इरानले यस मार्गमा आंशिक अवरोध सिर्जना गरेको बताइएको छ, जसले विश्व बजारमा तेल आपूर्तिमा असर पार्दै मूल्य वृद्धि हुने संकेत देखिएको छ।
आईआरजीसीले अमेरिकी चेतावनीपछि कडा प्रतिक्रिया जनाउँदै इजरायलका ऊर्जा संरचना, पावर प्लान्ट र सूचना प्रविधि क्षेत्रलाई निशाना बनाउने चेतावनी दिएको छ। साथै, अमेरिकी लगानी भएका संरचनाहरू समेत लक्ष्यमा पर्ने उल्लेख गरिएको छ।
यसैबीच, विदेशमन्त्री अरघचीले सामाजिक सञ्जालमार्फत होर्मुज स्ट्रेट बन्द नभएको दाबी गर्दै समुद्री मार्गमा देखिएको अवरोधका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहराएका छन्। उनले युद्धको जोखिमका कारण जहाज र बीमा कम्पनीहरू त्रसित बनेको बताएका छन्।
उता, इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिकी चेतावनीलाई ‘बेचैनी र निराशा’ को संकेतका रूपमा टिप्पणी गरेका छन्।
तनाव चर्किँदै जाँदा इरान र इजरायलबीच मिसाइल आक्रमण आदानप्रदान पनि तीव्र बनेको छ। हालैका आक्रमणहरूमा सयौं व्यक्ति घाइते भएका छन् भने दुवै पक्षबीच द्वन्द्व थप चर्किने संकेत देखिएको छ।