Monday, March 2, 2026

पाँच वर्षमै परिणाम दिने प्रतिबद्धता: देश दुर्घटनामा पर्न नदिने कांग्रेसको संकल्प


काठमाडौँ । गगनकुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणको स्पष्ट योजना र प्रतिवद्धतासहित अघि बढ्ने घोषणा गरेका छन्। बुधबार काठमाडौँमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विगतमा प्राप्त अवसरहरूको पूर्ण सदुपयोग हुन नसकेको स्वीकार गर्दै अबको समय परिणाममुखी कामको हुने बताएका हुन्।

सभापति थापाले देशलाई कुनै पनि प्रकारको दुर्घटना वा अस्थिरताबाट जोगाउँदै सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने रणनीति तय गरिएको जानकारी दिए। पार्टीको प्रतिज्ञापत्रमा समेत पाँच वर्षभित्र देखिने ठोस उपलब्धिको लक्ष्य समावेश गरिएको उनको भनाइ थियो।

इतिहासका विभिन्न मोडबाट शिक्षा लिँदै अहिलेको पुस्ताले चाहेको समुन्नत र समावेशी नेपाल निर्माण गर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनले उल्लेख गरे। देश बनाउन सक्ने सबैभन्दा पुरानो राजनीतिक शक्ति कांग्रेस नै भएकाले पार्टीका एजेन्डा तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

नेपाल अहिले व्यापक सुधारको चरणमा रहेको उल्लेख गर्दै उनले सुधारको सुनिश्चितता सहित आफूहरू निर्वाचनमा सहभागी भएको स्पष्ट पारे। देश निर्माणको अभियानमा सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने आवश्यकता औंल्याउँदै त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरे।

लोकतन्त्रलाई कमजोर पार्ने वा ‘हाइज्याक’ गर्ने प्रवृत्तिबाट जोगाउँदै परिणाममुखी शासन र प्रभावकारी सेवा प्रवाह दिन कांग्रेस रूपान्तरण भएर अघि बढेको दाबी उनले गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like