Monday, March 2, 2026

‘पपुलिज्मले सत्ता दिलाउन सक्छ, देश बनाउन सक्दैन’ - काठमाडौं-४ मा सचिन तिमल्सिनाको तीखो अभिव्यक्ति


काठमाडौं, ६ फागुन - नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिज्म) को राजनीतिले देशलाई सही दिशामा लैजान नसक्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले आफूहरू स्पष्ट वैचारिक आधार र ठोस आर्थिक योजनासहित निर्वाचनमा होमिएको उल्लेख गरे। तिमल्सिनाले कांग्रेस केवल सत्ताका लागि नभई साझा भविष्य निर्माणको लक्ष्यसहित अघि बढेको दाबी गरे।

विश्वव्यापी रूपमा फैलिएको पपुलिज्मको प्रवृत्तिले जटिल विषयमा गहिरो बहसको सट्टा सतही ‘वान लाइन समाधान’ प्रस्तुत गर्ने गरेको उनको भनाइ थियो। यस्तो प्रवृत्तिले समाजलाई भ्रमित पार्ने र दीर्घकालीन नीति निर्माण प्रक्रियालाई कमजोर बनाउने उनले बताए।

तिमल्सिनाले पार्टीका नेता गगन थापाविश्वप्रकाश शर्मा जस्ता व्यक्तित्वको वैचारिक स्पष्टता र कांग्रेसको राजनीतिक विरासतले आफूलाई उम्मेदवारी दिने आत्मविश्वास प्रदान गरेको उल्लेख गरे। उनले बौद्धिक समुदायलाई मौन नबस्न आह्वान गर्दै सामाजिक सञ्जालको आलोचनाबाट डराएर नेतृत्व पछि हट्नु नहुने बताए।

देशलाई सही दिशामा लैजान कांग्रेस नै तयार र सक्षम रहेको उनको दाबी थियो। विगतका आन्दोलन र युवाहरूले उठाएका सुशासन र विश्वसनीयतासम्बन्धी प्रश्नलाई पार्टीले आत्मसात गर्दै रूपान्तरणको मार्ग रोजेको उनले स्पष्ट पारे।

काठमाडौं-४ ले अघिल्लो समयमा प्रभावशाली नीति निर्माता दिएको स्मरण गर्दै तिमल्सिनाले आफू पनि सक्षम र परिणाममुखी सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like