- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको १५औं महाधिवेशनमार्फत नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्दै संगठनलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।
बडूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्राप्त उपलब्धिहरूमाथि चुनौती बढ्दै गएकाले कांग्रेस अझ बलियो, जिम्मेवार र एकीकृत बन्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामार्फत नयाँ पुस्तालाई लोकतान्त्रिक मार्गमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सर्वोच्च अदालतबाट आउने कुनै पनि निर्णयलाई स्वीकार गर्नुपर्ने बताउँदै उनले अनावश्यक बहस र अनुमानमा समय खेर नफाल्न आग्रह गरेका छन्। निर्वाचनको पृष्ठभूमि वा सम्भावित परिणामबारे अनावश्यक अड्कलबाजीभन्दा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
पार्टीभित्रका आन्तरिक कमजोरी र मतदातामा देखिएको परिवर्तनको तीव्र चाहनाका कारण पछिल्लो निर्वाचन परिणाम अपेक्षाअनुरूप आउन नसकेको उनले स्वीकार गरेका छन्। उक्त परिणाम ऐतिहासिक रूपमा कमजोर रहेको उल्लेख गर्दै बडूले यस यथार्थलाई आत्मसात् गर्नुपर्ने बताएका छन्।
साथै, पार्टी सभापतिले सार्वजनिक रूपमा नैतिक जिम्मेवारी लिइसकेको सन्दर्भ उल्लेख गर्दै उनले अब संगठन सुदृढीकरण र एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।