Thursday, April 16, 2026

हावाहुरी र किराको डढेलो: मधेसमा गहुँ उत्पादनमा ठूलो गिरावट, किसान चिन्तित


धनुषा - प्रतिकूल मौसम र किराको प्रकोपका कारण मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादन उल्लेख्य रूपमा घट्ने संकेत देखिएको छ। धानपछि दोस्रो मुख्य बालीका रूपमा गहुँ खेती गरिने यस क्षेत्रमा विशेषगरी चैतको सुरुवातमै आएको हावाहुरी र असिनापानीले बालीमा असर पुर्‍याएको हो।

धनुषा जिल्लामा मात्रै करिब ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ। तर, बाली पसाउने र पाक्ने महत्वपूर्ण समयमा मौसम प्रतिकूल हुँदा गहुँको दाना राम्रोसँग विकसित हुन सकेको छैन। यसले किसानहरूलाई आर्थिक रूपमा ठूलो मार परेको छ।

किसानहरूले ट्र्याक्टर जोताइ, सिँचाइ, मलखाद र श्रममा ठूलो लगानी गरे पनि उत्पादन घटेपछि लागतसमेत नउठ्ने अवस्था आएको गुनासो गरेका छन्। जनकपुरका किसानहरूका अनुसार समयमै सिँचाइ र मलखाद प्रयोग गरे पनि किराको प्रकोप र खराब मौसमका कारण उत्पादन निराशाजनक बनेको छ।

हावाहुरीले बाली सुकाउने र दाना अपुष्ट बनाउने समस्या व्यापक देखिएको छ। धेरै किसानहरू ऋण लिएर खेती गरेका कारण उत्पादन घट्दा जीविकोपार्जन र ऋण तिर्ने चिन्ता थपिएको छ।

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार क्षतिको यकिन तथ्याङ्क आउन बाँकी भए पनि उत्पादनमा कमी आउने प्रारम्भिक अनुमान गरिएको छ। यसअघि जिल्लामा उत्पादनमा उतारचढाव भए पनि यस वर्ष मौसम, बिउ, सिँचाइ र मलखाद व्यवस्थापनमा देखिएका समस्याले उत्पादनमा ठूलो गिरावट ल्याउने देखिन्छ।

मधेस प्रदेश गहुँ उत्पादनका हिसाबले देशकै अग्रणी क्षेत्र मानिए पनि अद्यावधिक तथ्याङ्कको अभाव र सरकारी बेवास्ताका कारण कृषि क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ।

पोषणका दृष्टिले महत्त्वपूर्ण मानिने गहुँमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर तथा भिटामिन ‘बी’ कम्प्लेक्स प्रशस्त पाइन्छ। तर, यति महत्त्वपूर्ण बालीमा आवश्यक सहयोग नपाउँदा किसानहरू निराश बन्दै गएका छन्।

कृषिमा अनुकूल वातावरण नबन्नु र राज्यको प्रभावकारी सहयोग अभावकै कारण किसानहरू पेशा छोडेर वैदेशिक रोजगारीतर्फ आकर्षित हुने क्रमसमेत बढ्दो छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like