- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, माघ १९ - राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका क्रममा आज जापान पुगेका छन्। जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति जापान प्रस्थान गरेका थिए।
राष्ट्रपति पौडेललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति जापान भ्रमणमा रहेका हुन्।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। साथै उनले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।
त्यसैगरी राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्नुका साथै जापानस्थित नेपाली दूतावासद्वारा उनको सम्मानमा आयोजना गरिने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए।
राष्ट्रपति पौडेलले चारदिने औपचारिक भ्रमण सम्पन्न गरी यही माघ २१ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।