- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र प्रयोग गरी नक्कली नोटको कारोबार गरिरहेको उक्त गिरोहलाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको हो।
भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको रक्सौल आसपास क्षेत्रमा सक्रिय गिरोहलाई पूर्वी चम्पारण प्रहरी र स्पेसल टास्क फोर्स (एसटिएफ) को संयुक्त टोलीले सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा गरिएको छापामारीका क्रममा पक्राउ गरेको हो। छापामारीका क्रममा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारखानाबाट २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली मुद्रा, १८ हजार पाँच सय रुपैयाँ बराबरको नक्कली भारतीय मुद्रा तथा नोट छाप्न प्रयोग हुने हाइटेक मेसिन बरामद गरिएको छ। साथै नक्कली नोट उत्पादनमा प्रयोग हुने कागज, रसायन र अन्य सामग्री पनि जफत गरिएको छ। घटनामा संलग्न १० जना अभियुक्त पक्राउ परेका छन्, जसमध्ये तीन जना नेपाली नागरिक रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट बरामद गरिएको नक्कली नेपाली रुपैयाँ आगामी फागुन २१ गते हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नेपाल भित्र्याउने योजना बनाइएको खुल्न आएको छ। गिरोहले सीमावर्ती क्षेत्रको दुरुपयोग गर्दै नक्कली नोट नेपाल पुर्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ। छापामारीका क्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ।
सुरक्षा निकायले गिरोहका अन्य सदस्य तथा यसका मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र पारिएको जानकारी दिएको छ। प्रहरीले नक्कली नोटको कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वका लागि गम्भीर चुनौती भएकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेको छ।