- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ५ माघ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि आवश्यक शान्ति–सुरक्षाको अवस्था अझै सन्तोषजनक नरहेको बताएका छन्। सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार निर्वाचनलाई लक्षित गरेर प्रभावकारी सुरक्षा व्यवस्था गर्न असफल भएको आरोप लगाए।
समाजमा विभिन्न किसिमका आपराधिक गतिविधिहरू निरन्तर भइरहेकाले सुरक्षा संयन्त्र कमजोर देखिएको ओलीको भनाइ थियो। उनले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएकाले चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनेमा आशंका रहेको उल्लेख गरे।
यद्यपि, यस्तो अवस्था हुँदाहुँदै पनि नेकपा एमाले कुनै पनि परिस्थितिमा निर्वाचन प्रक्रियाबाट पछि नहट्ने ओलीले स्पष्ट पारे। उनले भने, “सुरक्षा व्यवस्था अझै सुदृढ भइसकेको छैन। अपराधका घटनाहरू जारी छन् र निर्वाचन आयोगमाथि समेत प्रश्न उठिरहेका छन्। तर, जे जस्तो अवस्था आए पनि हामी चुनावमा सहभागी हुन्छौँ। त्यसमा कुनै द्विविधा छैन। तर, शान्ति–सुरक्षा मजबुत हुनैपर्छ।”
यसै क्रममा सञ्चारकर्मीले झापा निर्वाचन क्षेत्र नम्बर ५ लाई ‘निर्वाचनको इपिसेन्टर’ भनिएको सन्दर्भ उठाउँदा ओलीले उक्त टिप्पणीलाई पूर्ण रूपमा अस्वीकार गरे। “के को इपिसेन्टर? वाइयात कुरा हो,” भन्दै उनले त्यसलाई निराधार दाबीको संज्ञा दिए।