- by समाचार कक्ष
- Mar 06, 2025
जनकपुरधाम, माघ ५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेश प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।
जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशमा रास्वपाप्रति जनसमर्थन तीव्र रूपमा बढिरहेको दाबी गरे। अघिल्लो निर्वाचनमा अपेक्षित मत प्राप्त गर्न नसक्नुको कारण समयको अभाव र पार्टीलाई चिनाउन नसक्नु रहेको उनको भनाइ थियो।
“अघिल्लो निर्वाचनमा मधेशमा ३३ लाख मतदाता हुँदाहुँदै पनि हामीले एक लाखभन्दा कम मत पाएका थियौं। त्यो बेला समय कम थियो, हामीलाई चिनाउने अवसर मिलेन,” उनले भने, “अहिले हामीले आफूलाई चिनाउन सफल भएका छौं। रास्वपा कस्ता नेतृत्व लिएर आएको रहेछ भन्ने कुरा जनतामाझ स्पष्ट भइसकेको छ। त्यसैले अब मधेशबाट ६० प्रतिशतभन्दा बढी मत पाउने हाम्रो विश्वास छ।”
डा. वाग्लेले प्रतिस्पर्धी दलहरूले रास्वपामाथि संघीयताको विरोधी भएको आरोप लगाइरहेको भन्दै त्यसको जवाफ जनकपुरधामको सभामा देखिएको जनउपस्थितिले दिएको दाबी गरे।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सिंगो देशका जनताको आशाको केन्द्रका रूपमा उल्लेख गर्दै, उनलाई राष्ट्रिय स्तरको जनप्रतिनिधिका रूपमा स्थापित गर्ने लक्ष्य पार्टीले लिएको बताए।