- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुगेको भन्दै मधेसमा आलोचना चुलिएको छ। चुनाव नजिकिँदै गर्दा आएका यी भनाइहरू संयोग हुन् वा सुनियोजित भन्ने विषयमा मधेसमा व्यापक बहस सुरु भएको छ।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जनकपुरमा आयोजित सभामा मैथिली भाषामा दिएको अभिव्यक्तिलाई लिएर विवाद सुरु भएको हो। बालेनले ‘मधेसको छौरा प्रधानमन्त्री बन्दैछ’ भन्ने सन्दर्भमा बोलेको भनाइलाई एमाले सचिव बस्नेतले मैथिली भाषाको अर्थ नबुझी गलत ढंगले व्याख्या गर्दै उपहास गर्न खोजेको आरोप लागेको छ। मैथिली भाषामा प्रयोग भएको ‘छौरा’ शब्दलाई नेपाली भाषाको सन्दर्भमा अर्थ्याउँदा विवाद थप चर्किएको हो।
त्यसपछि एमाले अध्यक्ष ओलीले एक टेलिभिजन अन्तर्वार्तामा मधेसका केही जिल्लालाई संकेत गर्दै दिएको अभिव्यक्तिले थप असन्तोष जन्माएको छ। ओलीको भनाइले समग्र मधेसलाई हेय दृष्टिले हेरिएको सन्देश गएको भन्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आलोचना भइरहेको छ।
चर्को आलोचनापछि एमालेका उपमहासचिव रघुवीर महासेठले जनकपुरमा आयोजित कार्यक्रममा प्रष्टीकरण दिँदै मधेस वा मधेसी समुदायलाई अपमान गर्ने नियत नभएको बताए। उनले सचिव बस्नेतले यस विषयमा माफी मागिसकेको दाबीसमेत गरे। पछि बस्नेतले सामाजिक सञ्जालमार्फत क्षमायाचना गर्दै मैथिली भाषा, संस्कृति र पहिचानप्रति आफू सधैँ सम्मानित रहेको स्पष्ट पारेका छन्।
यद्यपि, ओली र बस्नेतका यी अभिव्यक्तिले मधेसमा एमालेको मत प्रभावित हुने सम्भावनाबारे चर्चा तीव्र बनेको छ। जनकपुरका राजनीतिक विश्लेषक ई. सत्यनारायण साहका अनुसार यस्ता भनाइहरूले मधेसी मतदाताको भावनामा गहिरो चोट पुर्याएको छ। उनका अनुसार बालेनको राजनीतिक सक्रियताकै कारण एमालेप्रति मधेसमा सकारात्मक माहोल कमजोर भइरहेको बेला यस्ता अभिव्यक्तिले मतदातालाई थप निराश बनाएको छ।
आइतबार जनकपुरमा बसेको एमाले मधेस प्रदेश समितिको बैठकमा समेत यो विषय उठेको थियो। प्रदेशका उम्मेदवारहरूले प्रभावशाली नेताहरूका अभिव्यक्तिका कारण चुनावी मैदानमा कठिनाइ भइरहेको गुनासो गरेका थिए। प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले भने भाषागत अज्ञानताका कारण त्रुटि भएको भन्दै यसलाई जनतामाझ स्पष्ट पार्ने प्रयास भइरहेको बताएका छन्।
मधेस आन्दोलनको समयमा पनि एमाले नेताहरूका अभिव्यक्तिका कारण पार्टीले ठूलो राजनीतिक क्षति व्यहोर्नु परेको स्मरण गराउँदै विश्लेषकहरूले अहिलेको अवस्था पनि उस्तै दिशातर्फ जान सक्ने चेतावनी दिएका छन्। २०७४ को निर्वाचनमा कमजोर प्रदर्शन गरेको एमालेले २०७९ मा मधेसमा मत सुधार गरेको थियो। तर पछिल्ला विवादास्पद अभिव्यक्तिले फेरि पनि मधेसमा एमालेको मताधार कमजोर बन्ने सम्भावना बढ्दै गएको देखिन्छ।