- by समाचार कक्ष
- Mar 06, 2025
१२ माघ, काठमाडौं - छिमेकी राष्ट्र भारतले आज सोमबार आफ्नो ७७ औं गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै छ। सन् १९५० को यही दिन भारतमा संविधान लागू भएसँगै देश गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको थियो।
गणतन्त्र दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा भारतले आफ्नो विकास यात्राको झल्को, सांस्कृतिक बहुलता र सैन्य क्षमताको प्रदर्शन गर्दैछ। समाचार एजेन्सी पीटीआईका अनुसार परेडमा हालै गठन गरिएका सैन्य इकाइहरूका साथै ‘अपरेशन सिन्दुर’ का क्रममा प्रयोगमा रहेका प्रमुख हतियार प्रणालीहरूको मोडलसमेत प्रस्तुत गरिनेछ।
यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन आयोगकी अध्यक्ष उर्सुला वान डेर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। समारोहको औपचारिक नेतृत्व भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले गर्ने कार्यक्रम रहेको छ।
भारतीय समयअनुसार बिहान साढे १० बजे सुरु हुने कार्यक्रम करिब ९० मिनेटसम्म चल्ने जनाइएको छ। परेड सुरु हुनुअघि झण्डै एक सय सांस्कृतिक कलाकारहरूले ‘विविधतामा एकता’ विषयवस्तुमा आधारित प्रस्तुति दिने बीबीसी हिन्दीले उल्लेख गरेको छ।
यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई शुभकामना व्यक्त गरेका छन्। उनले गणतन्त्र दिवसलाई भारतको गौरव र स्वाभिमानको प्रतीक भन्दै यस राष्ट्रिय पर्वले जनजीवनमा नयाँ ऊर्जा र उत्साह थपोस् तथा ‘विकसित भारत’ को संकल्प अझ सुदृढ बनोस् भन्ने कामना व्यक्त गरेका छन्।