- by समाचार कक्ष
- Mar 06, 2025
२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई ‘स्वेच्छाचारिताको पराकाष्ठा’ भएको टिप्पणी गरेकी छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि स्थापित वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै उनले त्यसलाई विधिको शासनमाथिको प्रत्यक्ष हस्तक्षेपको रूपमा व्याख्या गरेकी हुन् ।
संग्रौलाले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै संवैधानिक परिषद्को निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तमाथि समेत आघात पुगेको उल्लेख गरेकी छन् । उनले न्यायपालिकालाई सरकारअनुकूल बनाउने तथा ‘सेटिङ’मार्फत सञ्चालन गर्ने प्रयास कुनै पनि हिसाबले संवैधानिक मान्न नसकिने धारणा राखिन् ।
उनले न्यायालयको स्वतन्त्रता र गरिमा जोगाउन सबै पक्ष एकजुट भएर उक्त निर्णयको विरोध गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।