सीमा मल्होत्रा नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । बेलायतकी लेबर पार्टीकी नेतृसमेत रहेकी मल्होत्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ ।
काठमाडौंस्थित बेलायती दूतावास ले उनको नेपाल आगमनको पुष्टि गर्दै भ्रमणले बेलायत–नेपाल सम्बन्ध र साझेदारीलाई थप सुदृढ बनाउने जनाएको छ । यद्यपि, भ्रमणका सम्पूर्ण कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
सन् २०११ देखि पश्चिम लन्डनको फेल्थम एन्ड हेस्टन क्षेत्रबाट सांसद रहँदै आएकी मल्होत्रा बेलायती संसदमा महिला अधिकार, शिक्षा, रोजगारी, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक मामिलामा सक्रिय रूपमा काम गर्दै आएकी नेतृ हुन् ।
लन्डनमा जन्मिएकी उनको पारिवारिक मूल भारतको पञ्जाबसँग जोडिएको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनासम्बन्धी विषयमा British International Investment र Invest for Impact Nepal का प्रतिनिधिसँग छलफल गरेकी छन् ।
उनले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न बीआईआईले महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरिन् । नेपालमा कार्यालय स्थापना गरेको एकमात्र विकास वित्त संस्था (डीएफआई) का रूपमा बीआईआईले रोजगारी सिर्जना गर्ने व्यवसायमा लगानी गर्दै आएको उनको भनाइ थियो ।
बीआईआईले नेपालमा हरित ऊर्जा, दिगो विकास, साना तथा मझौला उद्यम तथा निजी क्षेत्र विस्तारका क्षेत्रमा लगानी गर्दै आएको छ । साथै, हरित बन्डमार्फत जलवायुमैत्री लगानी विस्तारमा पनि संस्थाले सहकार्य गरिरहेको बताइएको छ ।