- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण, अनुसन्धान र प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सात वटा विषयगत उपसमिति गठन गरेको छ ।
बिहीबार सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार, श्रमिकका समस्या तथा सार्वजनिक सेवा प्रवाहलगायतका क्षेत्रमा केन्द्रित उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो । बैठक प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो ।
बैठकले विभिन्न क्षेत्रका विज्ञ तथा प्रभावशाली व्यक्तित्वलाई उपसमितिको नेतृत्व जिम्मेवारी दिएको छ । पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, सहकारी, बिमा, सेयर बजार तथा वित्तीय क्षेत्रको अध्ययन गर्ने बताइएको छ ।
यस्तै चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति’ को संयोजक बनाइएको छ । उनले युवा पुस्तादेखि नागरिक समाजसम्म संवाद र समन्वयको भूमिका निर्वाह गर्नेछन् ।
जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिक उपसमितिमा महेन्द्र यादव, बाल अधिकार उपसमितिमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह उपसमितिमा गोपालप्रसाद पोखरेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिमा अञ्जु झालाई जिम्मेवारी दिइएको छ ।
बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । साथै नवगठित उपसमितिका संयोजकहरूलाई आगामी बैठकमा प्रारम्भिक अवधारणा र कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ ।