- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १३ जेठ । नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सरकारले जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा जानकारी दिँदै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा अहिलेसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल नेपाल भित्रिसकेको बताइन् । तीमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री वितरण गरिसकिएको उनले जानकारी दिइन् ।
मन्त्री चौधरीका अनुसार गोदाममा मौज्दात रहेको, नेपाल आइसकेको तथा गोदाममा अभिलेखीकरण हुन बाँकी रहेको मल जोड्दा कुल मौज्दात एक लाख ४४ हजार ५८५ मेट्रिक टन पुगेको हो ।
सरकारले चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमार्फत उपलब्ध गराउने लक्ष्य राखेको पनि उनले बताइन् ।
यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा नेपालमा मल आयातमा समेत समस्या देखिएको मन्त्री चौधरीको भनाइ छ । उनका अनुसार हालसम्म एक लाख ८७ हजार मेट्रिक टन मल आयात हुन सकेको छैन ।
यसैबीच, भारतसँग सरकार-सरकार (जीटुजी) प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भई अगाडि बढाइएको पनि मन्त्री चौधरीले जानकारी दिइन् ।