- by समाचार कक्ष
- Mar 06, 2025
४ माघ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमै समेटियो। सुरुवातदेखि नै दबाबमा देखिएको नेपाली इनिङ्सलाई बिन्दु रावलले सम्हाल्ने प्रयास गरिन्। उनले सर्वाधिक ४४ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याइन्।
त्यस्तै, सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन बनाइन् भने कप्तान रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रनको योगदान दिइन्।
थाइल्यान्डका बलरहरूले अनुशासित प्रदर्शन गर्दै नेपाललाई ठूलो स्कोर बनाउन दिएनन्। थिपात्चा पुथावङवले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिँदै नेपाली ब्याटिङ लाइनअप ध्वस्त पारिन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट हात पारे।