- by समाचार कक्ष
- Mar 06, 2025
३० पुस, काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको निजी स्वामित्वको संस्था नभएको स्पष्ट पारेका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका क्रममा प्रतिक्रिया दिँदै थापाले आफूहरूले कारबाहीको निर्णयबारे सुनेको बताए । तर, यस्तो निर्णयले आफूहरूको राजनीतिक यात्रा रोकिने भ्रममा नपर्न चेतावनी दिए ।
‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन,’ थापाले भने, ‘म ९ कक्षामा पढ्दै गर्दा कांग्रेस भएको हुँ । २०४६ को जनआन्दोलनमा सहभागी भएँ, २०६२/०६३ को आन्दोलनमा नेतृत्व गरें । कसैले हटायौं भनेर हट्ने वाला छैनौँ ।’
उनको भनाइले कांग्रेसभित्रको विवाद केवल संगठनात्मक नभई वैचारिक र ऐतिहासिक योगदानसँग जोडिएको संकेत गरेको छ । पार्टीभित्र देखिएको मतभेदका बीच थापाको यो अभिव्यक्तिले इतर पक्षको अडान अझ स्पष्ट बनाएको छ ।