- by समाचार कक्ष
- Mar 06, 2025
१३ भदौ, काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा देखिएको विवादले संस्थाको भविष्य संकटमा पार्ने खतरा रहेको भन्दै रेडक्रसको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाइटीज (IFRC) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।
आईएफआरसीको अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलाले नेपाल रेडक्रसलाई बिहीबार पठाएको पत्रमा पूर्व अध्यक्ष सुदर्शन नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटप्रति निराशा जनाइएको छ। उक्त रिट हालै सरकारले गठन गरेको तदर्थ समितिविरुद्ध दायर गरिएको हो।
नेपाल रेडक्रसमा राजनीतिक भागबन्डाका आधारमा तदर्थ समिति गठन गरिएको भन्दै सुदर्शन नेपालसहित चार जनालाई आईएफआरसीले यसअघि निलम्बन गरिसकेको छ। तर, त्यही पक्षका प्रतिनिधिले नयाँ नेतृत्वविरुद्ध फेरि अदालतमा मुद्दा दायर गर्नु संस्थाको स्थायित्व र निष्पक्षताप्रति आघात हुने उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, “विवादमा संलग्न पूर्व समितिका एक सदस्यले नयाँ तदर्थ समिति गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको खबरले हामी अत्यन्त निराश भएका छौं।”
आईएफआरसीले यस्तो परिस्थितिले नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय छवि, भरोसा र स्रोतमा गम्भीर असर पुर्याएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, मानवीय सेवामा समर्पित संस्थालाई राजनीतिक वा व्यक्तिगत स्वार्थले प्रभावित पार्न नहुने भन्दै मुद्दा फिर्ता लिन आग्रह गरिएको छ।
नेपाल सरकारले विनोद शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। तर, त्यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ।