Sunday, September 7, 2025

नेपाल हुँदै भारत प्रवेश गरेको आशंकामा तीन जैश–ए–मोहम्मद आतंकवादीबारे सुरक्षा सतर्कता कडा


काठमाडौं, १२ भदौ — पाकिस्तान आधारित आतंकी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल हुँदै भारतको बिहारमा प्रवेश गरेको सूचनापछि भारतमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

भारतीय समाचार माध्यमहरूका अनुसार हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नामक तीन पाकिस्तानी नागरिक नेपाल हुँदै भारत पसेको आशंकामा भारतीय प्रहरी मुख्यालयले सबै सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ। साथै, गुप्तचर निकायहरू पनि परिचालन गरिएको जनाइएको छ।

भारतीय मिडिया इन्डिया टुडे का अनुसार उनीहरू कुन नाका हुँदै र कहिले भारत प्रवेश गरे भन्ने स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन। तर प्रहरीको सबै युनिटहरूमा उनीहरूको हुलिया र परिचयसहितको सूचना पठाइएको छ र सतर्क रहन निर्देशन दिइएको छ।

न्यूज-18ईटीभी भारत का अनुसार विशेष गरी बिहार राज्यका सीमावर्ती जिल्ला—सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ। ती क्षेत्रमा संदिग्ध गतिविधिहरूको निगरानी बढाइएको छ भने स्थानीय बासिन्दालाई पनि शंका लागेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।

यसअघि सन् २०२४ मा पनि नेपाल हुँदै भारत प्रवेश गरेका तीन जना आतंकवादीलाई भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका थिए। यसपटक पनि यस्तै गतिविधिको आशंकाले भारतको सुरक्षा संयन्त्रमा हलचल उत्पन्न भएको हो।

नेपाल सरकारले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like