काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्ति प्रक्रियालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते पाँच जनालाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेपछि उक्त प्रक्रिया निष्पक्ष नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको हो ।
मन्त्रालयले कास्कीका डा. दीपकप्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक सदस्यमा नियुक्त गरेको थियो । यी नियुक्ति विभागीय मन्त्री खडक राज पौडेल (गनेस) को मन्त्रीस्तरीय निर्णयबाट गरिएको हो ।
उजुरीकर्ताले खुला प्रतिस्पर्धामा २७ जना सहभागी रहेकामा मन्त्री पौडेलले चलखेलका आधारमा आफू निकटकालाई छनोट गरेको आरोप लगाएका छन् । उजुरीमा खुला प्रतिस्पर्धाबाट प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरी ढंगले नियुक्ति गरिएको दाबी गरिएको छ ।
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि २०८३ वैशाख १२ गते गोरखापत्रमार्फत आवेदन आह्वान गरिएको थियो । आवेदन दिएका उम्मेदवारमध्ये २४ जनालाई वैशाख २७ गते अन्तर्वार्ता र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको थियो । तर, प्रस्तुतीकरण र मूल्याङ्कनमा कम अंक ल्याएका व्यक्तिहरूलाई नै प्रभावका आधारमा नियुक्त गरिएको आरोप उजुरीमा उल्लेख छ ।
नियमावलीअनुसार शैक्षिक योग्यता, अनुभव, कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अंक प्रदान गर्ने व्यवस्था भए पनि त्यसको मर्मअनुसार निर्णय नभएको दाबी गरिएको छ । उजुरीकर्ताले सम्पूर्ण प्राप्तांक सार्वजनिक गर्न तथा निष्पक्ष छानबिनपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
यता मन्त्रालयले भने नियुक्ति प्रक्रिया पूर्ण रूपमा पारदर्शी र योग्यता आधारित भएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार कार्ययोजनाको मूल्याङ्कन विज्ञ टोलीमार्फत गोप्य रूपमा गरिएको थियो र मेरिटका आधारमा उत्कृष्ट उम्मेदवारलाई चयन गरिएको हो ।
उनले नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप वा नातावाद नभएको दाबी गर्दै कानुनी रूपमा मन्त्रीलाई सीधै बोर्ड सदस्य नियुक्त गर्ने अधिकार रहे पनि यसपटक खुला प्रतिस्पर्धामार्फत प्रक्रिया अपनाइएको बताए ।
उजुरी परेको विषयलाई सामान्य भन्दै मन्त्रालयले नेपाल एयरलाइन्सको खस्कँदो अवस्था सुधार्न सक्षम र योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिइएको दाबी गरेको छ ।