Monday, June 1, 2026

डा. ल्हारक्याल लामा म्यानमार सरकारको प्रतिष्ठित ‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मानित


काठमाडौँ । लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारी उपाध्यक्ष तथा पूर्व अर्थराज्यमन्त्री खेन्पो छिमे छिरिङ (डा. ल्हारक्याल लामा) लाई म्यानमार सरकारले बुद्ध धर्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठित धार्मिक उपाधि प्रदान गरेको छ ।

शनिबार साँखुस्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष कार्यक्रममा उनलाई ‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मान गरिएको हो । बुद्ध धर्मको शुद्धता संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमा खेलेको भूमिकाको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको बताइएको छ ।

म्यानमार सरकारले हरेक वर्ष बुद्ध धर्मको अध्ययन, साधना, अभ्यास तथा बुद्ध शासनको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

यसै क्रममा सन् २०२६ का लागि डा. लामालाई ‘बुद्धको साँचो धर्मलाई उज्यालो बनाउने महान ध्वजवाहक’को रूपमा व्याख्या गर्दै ‘महासद्धम्म जोतिकधज’ उपाधि प्रदान गरिएको हो । नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले उनलाई उक्त सम्मान हस्तान्तरण गरेका थिए ।

म्यानमार सरकारले प्रदान गर्ने यो उच्च धार्मिक सम्मान पहिलोपटक महायान परम्पराका व्यक्तित्वलाई प्रदान गरिएको जनाइएको छ । गत वर्ष उक्त उपाधि कम्बोडियाका सर्वोच्च धर्मगुरु सम्देच प्रेअह महा सोमेधाधिपतेय कित्ती उद्देसपण्डित नुन नेगतलाई प्रदान गरिएको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like