- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । बेलायतकी इण्डो-प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्यको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्
नेपाल भ्रमणका क्रममा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले दुई देशबीचको दुई सय वर्षभन्दा पुरानो सम्बन्धलाई आधुनिक र थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले बेलायतले विगत ७० वर्षदेखि नेपालको शिक्षा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको पनि स्मरण गरिन्
मन्त्री मल्होत्राले शिक्षा र आर्थिक विकास एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यमा बेलायतले सहकार्य गर्न चाहेको बताइन्
उनले बेलायतमा लागू गरिएको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारी गर्न सकिने धारणा राखिन् । साथै, ‘ट्रान्सनेशनल एजुकेसन’ मार्फत नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्न सक्ने व्यवस्था प्रतिभा पलायन रोक्न र अध्ययन खर्च घटाउन उपयोगी हुने बताइन्
हाल नेपालका ३० वटा क्याम्पससँग १९ बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र यसबाट १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको जानकारी पनि उनले दिइन्
मन्त्री मल्होत्राले बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई दुई देशबीचको ‘जीवित पुल’ का रूपमा व्याख्या गरिन् । उनले नेपाली मूलका व्यक्तिहरू बेलायतको राजनीति र व्यवसाय क्षेत्रमा सफल बन्दै गएकोमा खुसी व्यक्त गर्दै बेलायतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय समुदायमध्ये छैटौँ ठूलो समूह रहेको बताइन्
उनले कुनै पनि देशले मानवीय क्षमता र सीपमा लगानी नगरी आर्थिक समृद्धि हासिल गर्न नसक्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षा र व्यावसायिक तालिम रोजगारी सिर्जनाको आधार भएको धारणा राखिन्
नेपाल भ्रमणका क्रममा मन्त्री मल्होत्राले शिक्षा, परराष्ट्र तथा अर्थमन्त्रीसँग भेटवार्ता गर्दै शिक्षा, बालिका सशक्तीकरण, आधारभूत सिकाइ तथा अटिजम भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका विषयमा छलफल गरेकी थिइन्
उनले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत विश्वसनीय साझेदारका रूपमा निरन्तर साथ रहने विश्वास व्यक्त गरिन्