- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणामा उनको भ्रमण तय भएको रास्वपा स्रोतले जनाएको छ
नयाँ सरकार गठनपछि नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणहरू खासै हुन नसकेको अवस्थामा लामिछानेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको थियो
रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले लामिछानेलाई दुईदिने भ्रमणका लागि निमन्त्रणा दिएको हो । उनी जेठ १८ गते आसपास भारत जाने तयारीमा रहेको बताइएको छ
भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल–भारत सम्बन्ध चिसिएको चर्चा भइरहेका बेला यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ । भारतले यसअघि प्रधानमन्त्री शाहलाई पनि भ्रमणको निम्तो दिएको भए पनि हालसम्म भ्रमणको मिति तय हुन सकेको छैन
भारत सरकारले नेपाली प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै होस् भन्ने चाहना राख्दै आएको बताइन्छ । तर, प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुनसुकै देश भ्रमण गर्न सकिने पक्षमा रहेको स्रोतको भनाइ छ
यसैबीच प्रधानमन्त्री शाहसँग भेट सुनिश्चित नहुने संकेत पाएपछि भारतले विदेश सचिवको प्रस्तावित नेपाल भ्रमणसमेत रद्द गरेको चर्चा छ । प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिलाई अत्यावश्यक अवस्थामा बाहेक भेट नगर्ने प्रोटोकल बनाएको बताइएको छ