- by समाचार कक्ष
- Mar 06, 2025
वीरगञ्ज,चैत १८ | वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा कार्यरत एक कर्मचारीलाई छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।
प्रहरीका अनुसार गद्दीले एक छात्रालाई लामो समयदेखि अनैतिक सम्बन्धका लागि दबाब दिँदै आएका थिए। उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिएका थिए भने अस्वीकार गरेमा अंक घटाइदिने र अनुत्तीर्ण गराउने धम्की दिएका थिए।
पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको बताएकी छन्। प्रस्ताव अस्वीकार गरेपछि उनले शैक्षिक भविष्यमा असर पार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख छ। छात्राले चैत १४ गते औपचारिक उजुरी दर्ता गराएकी थिइन्।
उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
घटना सार्वजनिक भएसँगै विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका गरिएको छ। शैक्षिक संस्थाभित्रै यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थी सुरक्षामाथि प्रश्न उठेको छ।
यसैबीच, पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका भतिजो रहेको खुलासा भएपछि घटनाले थप चर्चा पाएको छ।