- by समाचार कक्ष
- Mar 06, 2025
२२ भदौ, काठमाडौं — कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ। शनिबार ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा मन्त्री सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको घटनापछि चौधरीलाई नियन्त्रणमा लिइएको थियो।
बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गरिएको थियो। सामान्य चोटपटक लागेको बालिका डिस्चार्ज भई घर फर्किइसकेकी छन्। प्रहरीले दिएको जानकारीअनुसार पीडित पक्षबाट कुनै उजुरी नआएको र आपसी समझदारी (मिलापत्र) समेत भइसकेकाले चौधरीलाई छाड्ने प्रक्रिया अघि बढाइएको हो।
प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले भने, "दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएका थियौं। बालिका घर फर्किइसकेकी छन् र उजुरी समेत नभएकाले सम्भवत: आज छाडिन्छ।"
मन्त्री राना नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा सहभागी हुन आएका थिए। दुर्घटनापछि गाडी रोकिनुका साटो सिधा अगाडि बढेको भन्ने आरोप लाग्दै आएको छ। घटनापछि सार्वजनिक आलोचना भएपछि नेकपा एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जिम्मेवारी लिएको जनाएको छ।
प्रहरीले भने घटनासम्बन्धी औपचारिक अनुसन्धान प्रक्रिया यथावत् रहने जनाएको छ।