Thursday, September 4, 2025

पाताले छाँगो निजीकरण विवादले उग्र रूप लिँदा विद्यार्थी नेतामाथि खुकुरी प्रहार, एक पक्राउ


पोखरा — पोखराको चर्चित पर्यटकीय स्थल पाताले छाँगोको व्यवस्थापन ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णयसँगै उत्पन्न तनाव हिंसात्मक मोडमा पुगेको छ। बिहीबार भएको सार्वजनिक सुनुवाइका क्रममा विरोध प्रदर्शन भइरहँदा विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार भएको छ।

खुकुरी प्रहार गर्ने व्यक्ति पोखरा–९ का बंशसिंह खवास रहेको खुलेको छ। प्रहरीका अनुसार उनी घटनापछि पक्राउ परिसकेका छन्। घटनामा पौडेलसहित खवास पनि घाइते भएका छन्। बैदाम प्रहरी प्रमुख नवराज भट्टराईले दुवै पक्ष घाइते भएको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन्। "भाग्ने क्रममा खवासलाई सामान्य चोट लागेको छ, उपचारपछि थप विवरण खुल्नेछ," उनले भने।

विवादको मूल कारण पाताले छाँगो ४० वर्षका लागि सेती क्यानोन प्रालिलाई दिने सार्वजनिक–निजी साझेदारी अन्तर्गतको सम्झौता हो। २०७८ साउनमै उक्त सम्झौता भए पनि वातावरणीय प्रभाव मूल्यांकन (IEE) प्रक्रिया अन्तर्गत बिहीबार सार्वजनिक सुनुवाइ गरिएको थियो। सोही अवसरमा केही स्थानीय र विद्यार्थी नेताहरूले खुलेर आपत्ति जनाएका थिए।

पाताले छाँगोको दीर्घकालीन भाडामा दिने निर्णयलाई लिएर स्थानीय तह र युवाहरूबीच चासो र असन्तुष्टि बढ्दै गएको छ। अब यो विषय केवल राजनीतिक वा प्रशासनिक निर्णयको मात्र विषय नरही जनभावनासँग जोडिएको संवेदनशील मुद्दा बनेको देखिन्छ।

सार्वजनिक सुनुवाइ जस्तो लोकतान्त्रिक प्रक्रियामा हिंसा र खुकुरी प्रहारजस्तो घटना हुनु अत्यन्त दुर्भाग्यपूर्ण रहेको भन्दै स्थानीय तहले थप सुरक्षाको प्रत्याभूति दिने तयारी थालेको बताइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like