Sunday, May 31, 2026

मनसुनमा जोखिम नलिन एआईजी कार्कीको चेतावनी - ‘मौसम पूर्वानुमान बेवास्ता गर्दा ठूला दुर्घटना हुन सक्छन्’


ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना तथा जनधनको क्षति कम गर्न मौसम पूर्वानुमानलाई गम्भीर रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमान प्रविधि निकै विश्वसनीय बनेको बताए । उनले पूर्वानुमानलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने जोखिम बढ्ने चेतावनी दिए ।

कार्कीले यातायात व्यवसायी र चालकलाई आर्थिक लाभभन्दा मानवीय सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गर्दै जोखिमपूर्ण अवस्थामा जबरजस्ती सवारी सञ्चालन नगर्न निर्देशन दिए । खराब मौसममा यात्रा स्थगित गर्न चालक र यात्रु दुवैले सचेत हुनुपर्ने उनको भनाइ थियो ।

यातायात क्षेत्र सुधारका लागि भइरहेका प्रयासबारे चर्चा गर्दै उनले अव्यवस्थित पार्किङ नियन्त्रण हुनु सकारात्मक उपलब्धि भएको बताए । बसपार्कभित्र आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको उल्लेख गर्दै ट्राफिक नियम पालनामा निरन्तरता आवश्यक रहेको उनको धारणा थियो ।

प्रविधिमार्फत यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने प्रयास जारी रहेको जानकारी दिँदै कार्कीले हालसम्म ४ सयभन्दा बढी सवारी साधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको बताए । यसले दुर्घटनाको वास्तविक अवस्था पहिचान गर्न र न्यायिक प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

त्यसैगरी, अनलाइन टिकटिङ प्रणाली र यात्रुको सामान सुरक्षाका लागि लागू गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण कार्यान्वयन गर्न पनि उनले यातायात व्यवसायीलाई आग्रह गरे । विगतका वर्षमा बाढी–पहिरोका कारण भएका दुःखद घटना दोहोरिन नदिन सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा उनले जोड दिए ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like