- by समाचार कक्ष
- Mar 06, 2025
९ माघ, काठमाडौं । मनाङ जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिने निवेदन दिएका छन्।
मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार दुवै पार्टीका उम्मेदवारबाट नाम फिर्ताको निवेदन प्राप्त भएको छ। उनले अनलाइनखबरसँग भने, “एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ता लिने निवेदन आएको छ। औपचारिक निर्णय दिउँसो १ बजेपछि सार्वजनिक हुनेछ।”
एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी फिर्ता स्वीकृत भएसँगै उनीहरू दुवै चुनावी प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्।
मनाङमा सुरुमा पाँच जनाको उम्मेदवारी परेको थियो। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका उम्मेदवार तोकिएको समयभन्दा ढिलो निर्वाचन अधिकृतको कार्यालय पुगेकाले उम्मेदवार दर्ता हुन नसकेको जनाइएको छ।
यसैबीच, नेपाली कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ यसपटक पनि पुनः उम्मेदवार बनेका छन्। उम्मेदवारी फिर्तापछि मनाङमा चुनावी समीकरण थप रोचक बनेको छ।