- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । गुल्मी-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले चुनावी अभियानका क्रममा माछामासु नखाने घोषणा गर्दै आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्। उनले गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारीमा एक रात बसेर गरेको कुल २६२५ रुपैयाँ खर्चको बिल सार्वजनिक गरेका हुन्।
चुनाव प्रचारका क्रममा ढकाल आइतबार साँझ सिमलटारी पुगेका थिए। उक्त स्थान गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा पर्छ, जहाँ रास्वपाबाट गोविन्द पन्थि उम्मेदवार छन्। बोलेरो गाडीमा यात्रा गरेका ढकाल, पन्थीसहित ६ जनाको टोली सिमलटारीस्थित सिता होटल एन्ड रेस्टुरेन्टमा बास बसेको थियो।
ढकालले सोमबार बिहान सामाजिक सञ्जालमा भिडिओमार्फत खर्च विवरण सार्वजनिक गर्दै टोलीले पूर्ण शाकाहारी खाना मात्र सेवन गरेको जानकारी दिएका छन्। उनले देखाएको बिलअनुसार ६ जनाले प्रतिव्यक्ति २०० रुपैयाँ दरले खाना खाँदा १२०० रुपैयाँ खर्च भएको छ। यस्तै, प्रतिकोठा ४०० रुपैयाँका दरले ३ वटा कोठाको भाडा १२०० रुपैयाँ परेको छ भने चिया र खाजामा २२५ रुपैयाँ खर्च भएको छ।
ढकालले गाडी भाडामा लिएर हिँड्दा दैनिक ३ देखि ४ हजार रुपैयाँ खर्च हुने भए पनि कसैलाई पनि इन्धन नबाँडिएको बताए। उनले पार्टीका देशभरिका उम्मेदवारलाई माछामासु, रक्सी र तेल वितरण नगरी सादगीपूर्ण अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।
“हामी माछामासु र रक्सी सेवन गर्दैनौं। सबै उम्मेदवारले यस्तै अभ्यास गरे सादगीपूर्ण तरिकाले पनि चुनाव जित्न सकिन्छ,” ढकालले भने।
ढकालले आफू सँगै प्रचारमा रहेका उम्मेदवार गोविन्द पन्थिलाई समयमै उपस्थित नहुँदा प्रतीकात्मक रूपमा चार पटक उठबस गराइएको प्रसंग पनि उल्लेख गरे। निर्धारित समयभन्दा चार मिनेट ढिला भएकाले चार पटक उठबस गराइएको ढकालको भनाइ छ, जसलाई पन्थीले पनि स्वीकार गरेका छन्। पन्थी पूर्व डिएसपी तथा अधिवक्ता हुन्।
ढकालले यसपटक गुल्मी जिल्लामा रास्वपाले क्लीन स्वीप गर्ने दाबी गर्दै पार्टीको मुख्य प्रतिस्पर्धा झापा र चितवनसँग रहेको बताए।