Monday, March 2, 2026

गोरखा–२ मा दबाब बढ्दै: रास्वपाको उम्मेदवारी फिर्ता आग्रह, बाबुरामलाई प्रचण्डको फोन


९ माघ, काठमाडौं । आगामी निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ। रास्वपाले यस क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई आफ्नो उम्मेदवार बनाएको छ।

बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट निर्वाचनमा सहभागी भएका थिए र तत्कालीन उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए। यसपटक भने प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

यसैबीच, रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सार्वजनिक रूपमा डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन्। उनले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै डा. भट्टराईले उम्मेदवारी फिर्ता गरी आगामी दिनमा राष्ट्रिय हितका विषयमा रास्वपालाई सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

“पूर्वप्रधानमन्त्रीका रूपमा डा. भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गदर्शन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” वाग्लेले भनेका छन्।

स्रोतका अनुसार, नेकपा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि डा. भट्टराईलाई फोनमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।

रास्वपाले फागुन २१ पछि सम्भावित संघीय सरकारमा रास्वपाको नेतृत्व वा सहभागितामा बन्न सक्ने सरकारका नीति, प्रशासन, सुशासन र विकाससम्बन्धी संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like