- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापति चयनका लागि निर्वाचन आगामी शुक्रबार (वैशाख ४) हुने भएको छ। ‘मिनी संसद्’का रूपमा परिचित यी समितिहरूको नेतृत्व चयनका लागि संघीय संसद् सचिवालयले निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।
निर्धारित कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिका लागि दर्ता हुने प्रस्तावमा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य रूपमा सोही समितिका सदस्य हुनुपर्ने व्यवस्था गरिएको संसद्का सचिव हर्कराज राईले जानकारी दिएका छन्।
उक्त दिन अपराह्न साढे ४ बजेसम्म दर्ता भएका प्रस्तावहरूको नामावली सार्वजनिक गरिनेछ। त्यसपछि शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्ताव प्रस्तुत गरिने, समर्थकले समर्थन गर्ने र निर्णयका लागि मतदान प्रक्रिया अघि बढाइनेछ।
सचिवालयले एकभन्दा बढी समितिमा पदेन सदस्य रहेका मन्त्रीहरूलाई मतदानमा सहभागी हुनुपरेमा निर्वाचनभन्दा कम्तीमा २४ घण्टा अगावै सम्बन्धित समितिलाई लिखित जानकारी गराउन आग्रह गरेको छ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ तथा २ संयुक्त समिति रहेका छन्। प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकारदेखि अर्थ, सार्वजनिक लेखा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत विभिन्न महत्वपूर्ण विषयगत समितिहरू सक्रिय छन्।
यी समितिका सभापतिहरूले संसदीय गतिविधि प्रभावकारी बनाउने, विधेयकहरूमा छलफल अगाडि बढाउने तथा सरकारी कामकारबाहीको निगरानी गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।