Monday, March 2, 2026

महाशिवरात्रिमा पशुपतिनाथमा रातभर भक्तजनको सागर, लाखौँ श्रद्धालुको अविरल उपस्थिती


काठमाडौं । कडाकेको जाडो र चिसो स्याँठ चलिरहे पनि महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र भक्तजनले खचाखच भरिएको देखियो। साँझ ढल्किँदै जाँदा बिजुली बत्तीले झिलिमिली बनेको मन्दिर परिसरमा श्रद्धालुको भीड घट्नुको सट्टा झन् बढ्दै गएको थियो।

पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार साँझदेखि देखिएको यो भीड सोमबार बिहानसम्म निरन्तर कायम रह्यो। महाशिवरात्रिका कारण मन्दिर रातभर खुला राखिएको थियो भने मूल सडकबाट प्रवेश गर्ने मुख्य ढोका पनि बन्द गरिएन।

आइतबार सूर्यास्तपछि सुरु भएको चार प्रहरको विशेष पूजा सोमबार बिहान ६ बजाअघि सम्पन्न भएको थियो। महाशिवरात्रिको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा शुक्रबारदेखि नै भक्तजनको उल्लेख्य उपस्थिति देखिएको र सोमबार बिहानसम्म पनि श्रद्धालुको चहलपहल जारी रहेको जनाइएको छ।

कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार राति १० बजेपछि पनि मुख्य मन्दिर क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लामबद्ध थिए। अघिल्ला वर्षहरूमा राति १० बजेपछि मूलढोकाभित्रको लाइनका कारण ढोका बन्द गरेर पूजा समापन गरिने भए पनि यस वर्ष अत्यधिक भीडका कारण ढोका खुलै राखिएको थियो।

यस अवसरमा लाखौँ भक्तजनले पशुपति क्षेत्रमा पूजा, आराधना र दर्शन गरेका छन्।

यस्तै, गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म श्रद्धालुको उल्लेख्य भीड लागेको थियो। मन्दिर परिसर झिलिमिली बत्तीले सजाइएको थियो। धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा गरिन्छ। श्रीयन्त्र पूजामा सहभागी भक्तजनले फलप्राप्तिका लागि बालयन्त्र पूजा पनि गर्नुपर्ने विश्वासका कारण धेरै श्रद्धालु गोकर्णेश्वर पुग्ने गरेका छन्।

भक्तजनको भीडका कारण गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहोर सोमबार बिहान सरसफाइ गरिने भएको छ। वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा मन्दिर परिसरमा सफाइ अभियान सञ्चालन गरिने जनाइएको छ। मञ्चले गुह्येश्वरीमाथिको वाग्मती क्षेत्रमा नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ।

त्यस्तै, नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको थियो, जुन रातिसम्म उस्तै रह्यो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार छ जना ब्राह्मणद्वारा चारै प्रहर विशेष पूजा तथा रुद्राभिषेक सम्पन्न गरिएको थियो। महाशिवरात्रिमा बाणेश्वर र नागेश्वरको दर्शन गर्नाले मुद्दामामिलाबाट मुक्ति र श्रीप्राप्ति हुने धार्मिक विश्वास रहेको उनले बताए।

राजधानीसहित देशभरका अन्य शिवालयमा पनि मध्यरातमा पर्ने फागुन कृष्ण चतुर्दशीका अवसरमा महाशिवरात्रि पर्व विशेष रूपमा मनाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like