- by समाचार कक्ष
- Mar 06, 2025
जेठ ६, पर्वत । नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएको भन्दै आलोचना भइरहेका बेला पर्वतको महाशिला गाउँपालिका ले आर्थिक वर्ष २०८१/८२ मा ‘शून्य बेरुजु’ कायम गर्दै वित्तीय सुशासनमा ऐतिहासिक सफलता हासिल गरेको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाको बेरुजु शून्य (०) देखाएसँगै गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शिता र सुशासनमा नयाँ उदाहरण प्रस्तुत गरेको हो।
महालेखापरीक्षकको कार्यालयमार्फत सार्वजनिक गरिएको प्रतिवेदनअनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आय तथा व्ययतर्फको कुल रु. ८१ करोड ८४ लाख ६३ हजारको लेखापरीक्षण सम्पन्न गराएको थियो। उक्त लेखापरीक्षणमा एक रुपैयाँ पनि बेरुजु नदेखिनुले गाउँपालिकाको आम्दानी तथा खर्च प्रणाली पूर्ण रूपमा नियमसंगत र पारदर्शी रहेको पुष्टि भएको छ।
प्रतिवेदनअनुसार देशभरका ७२१ स्थानीय तहमध्ये केवल तीन स्थानीय तहले मात्र शून्य बेरुजु कायम गर्न सफल भएका छन्। उक्त सूचीमा पर्वतको महाशिला गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुर्कोट गाउँपालिका रहेका छन्। यस उपलब्धिसँगै महाशिला गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तहमध्ये एक बन्न सफल भएको छ।
यस सफलतापछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय ले धन्यवाद ज्ञापन गर्दै गाउँसभाका सदस्य, गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुषाल, उपाध्यक्ष धनसुबा वि.क., गाउँकार्यपालिकाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमानदारिता र प्रतिबद्धताका कारण यो सफलता सम्भव भएको बताएका छन्। उनले आगामी वर्षहरूमा समेत आर्थिक अनुशासन र सुशासनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी गाउँपालिकाका लेखा अधिकृत सन्तोष वि.क. ले यो उपलब्धि कानुनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा सम्पूर्ण टिमको निरन्तर मेहनतको परिणाम भएको बताएका छन्। उनका अनुसार सार्वजनिक खरिद ऐन, आर्थिक नियमावली तथा प्रचलित कानुनको अक्षरशः पालना गर्दै प्रत्येक भुक्तानी प्रक्रिया पारदर्शी रूपमा सञ्चालन गरिएको थियो।
भौगोलिक विकटता र कर्मचारी अभावजस्ता चुनौतीका बाबजुद “आर्थिक अनुशासनको पूर्ण पालना : बेरुजु शून्य महाशिला गाउँपालिका” भन्ने नारालाई व्यवहारमा उतार्दै प्राप्त गरिएको यस सफलताले देशभरका अन्य स्थानीय तहलाई पनि वित्तीय पारदर्शिता, सुशासन र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ।