Monday, June 1, 2026

जसपा नेपाल अनिर्णीत, मधेश सरकारको विश्वासको मत फेरि सर्‍यो


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिने कार्यक्रम स्थगित गर्दै जेठ ८ गतेका लागि नयाँ मिति तय गर्न सभामुखलाई पत्र पठाएका छन् । जनता समाजवादी पार्टी नेपाल ले स्पष्ट निर्णय नदिएपछि कार्यक्रम सारिएको बताइएको छ ।

यसअघि जनमत पार्टीले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर जसपा नेपालभित्र विश्वासको मत दिने वा नदिने विषयमा मत विभाजित भएपछि अन्तिम समयमा कार्यक्रम रोकिएको हो ।

स्रोतका अनुसार जसपा नेपालका केही सांसद सरकारको पक्षमा उभिन तयार देखिए पनि केही सांसद विपक्षमा जाने पक्षमा छन् । यही विवादका कारण मुख्यमन्त्रीले सभामुख रामअषिश यादव लाई कार्यक्रम सार्न आग्रह गरेका हुन् ।

जसपा नेपालका एक नेताले पार्टीभित्र छलफल जारी रहेकाले अझै निर्णयमा पुग्न नसकिएको बताएका छन् । उनले कांग्रेसभित्र पनि केही सांसद ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेको संकेत पाएपछि परिस्थिति थप जटिल बनेको दाबी गरे ।

उनका अनुसार यदि विश्वासको मत प्रक्रिया अघि बढेको भए जसपा नेपाल कुनै न कुनै निष्कर्षमा पुग्न बाध्य हुने अवस्था थियो । तर सत्ता गठबन्धनभित्रकै असमझदारीका कारण प्रक्रिया रोकिएको हो ।

हाल जसपा नेपालको बैठक जारी रहेको छ । उता, सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टी का दुई मन्त्री भने अझै सरकारमै कायम छन् । यद्यपि पार्टीका संसदीय दलका नेता चन्दन सिंह ले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like