- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २५ फागुन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनै पूर्वजानकारी वा संवादबिना आफ्नो मुख्यालयमा तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएको छ। संघका अनुसार यस घटनाले प्रशासनिक कामकाज प्रभावित भएको छ र निर्धारित समयमा ‘ए’ डिभिजन लिग आयोजना गर्न कठिनाइ देखिएको छ।
खेलाडीका मागहरू पूरा नभएको आरोप लगाउँदै नेपाल फुटबल खेलाडी संघले आइतबार एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो। सोही विषयमा एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दीका कारण दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएको र यसले लिग तयारीमा असर पारेको जनाएको छ।
एन्फाका अनुसार सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वयबाट राष्ट्रिय लिगको तालिका तय गरिएको थियो। सोही सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि ‘शहीद स्मारक ए डिभिजन लिग’ सुरु गर्ने तयारी भइरहेको थियो।
तर मुख्यालयमा तालाबन्दी भएपछि प्रशासनिक प्रक्रिया रोकिएकाले त्रिपक्षीय सहमति कार्यान्वयन गर्न कठिन भएको एन्फाको भनाइ छ। संघले भनेको छ कि क्लब र खेलाडी संघसँग भएको सहमतिअनुसार लिग सञ्चालन गर्न आफू प्रतिबद्ध भए पनि हालको अवस्थाले काम अघि बढाउन समस्या सिर्जना गरेको छ।
एन्फाले खेलाडी संघको मागअनुसार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलबाट प्राप्त टिकट आम्दानीको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा पनि आफू प्रतिबद्ध रहेको जनाएको छ।
त्यस्तै, वर्तमान कार्यसमितिले घोषणा गरेका सबै पुरस्कार रकम भुक्तानी गरिसकिएको एन्फाले दाबी गरेको छ। अघिल्ला कार्यसमितिले निर्णय गरेका बाँकी पुरस्कार रकम भने आन्तरिक स्रोतको उपलब्धताअनुसार क्रमशः भुक्तानी गर्दै जाने प्रतिबद्धता पनि संघले जनाएको छ।