- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारको कुल बजेट खर्च करिब ६० प्रतिशत पुगेको छ । तर पुँजीगत (विकास) खर्च भने अपेक्षाकृत रूपमा कमजोर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमध्ये हालसम्म ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको ५९.७५ प्रतिशत हो ।
खर्च संरचनाअनुसार चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजनमध्ये ६८.९८ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।
तर विकासतर्फ (पुँजीगत खर्च) स्थिति कमजोर देखिएको छ । ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा केवल २७.९१ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ ६५.३० प्रतिशत खर्च भएको छ । यस शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरिएकोमा हालसम्म २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ ।
आम्दानीतर्फ पनि सरकारले लक्ष्यअनुसार प्रगति गर्न सकेको छैन । चालु आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानी लक्ष्य राखिएकोमा हालसम्म ६६ प्रतिशत मात्र संकलन भएको छ ।
राजस्व संकलन पनि लक्ष्यभन्दा पछाडि देखिएको छ । १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्यमध्ये हालसम्म ९ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६६.६९ प्रतिशत हो ।
वैदेशिक अनुदानतर्फ पनि कमजोर प्रदर्शन देखिएको छ । ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म १७ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन ३३.२८ प्रतिशत हो ।