- by समाचार कक्ष
- Mar 06, 2025
दाङ, ११ माघ - लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया आज बिहान ९ बजेदेखि सुरु भएको छ। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका तीन पदका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। अन्य समूहअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीबाट वृहस्पति अधिकारी, नेपाली कांग्रेसबाट चन्द्रबहादुर अधिकारी तथा राष्ट्रिय जनमोर्चाबाट बोमबहादुर खत्री उम्मेदवार रहेका छन्।
महिला समूहअन्तर्गत नेकपा एमालेबाट रामकुमारी झाँक्री, नेपाली कम्युनिष्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्यमा पण्डितबीच प्रतिस्पर्धा भइरहेको छ।
यसैगरी अपाङ्गता समूहअन्तर्गत सर्जन बी.के. र बासुदेव घिमिरे उम्मेदवार छन्।
मतदानमा प्रदेशसभा सदस्य ८३ जना र स्थानीय तहका २१७ जना गरी कुल ३०० जना मतदाता सहभागी हुँदै छन्। ८७ प्रदेशसभा सदस्यमध्ये केहीले पद परिवर्तन वा उम्मेदवारीका कारण मतदान गर्न नपाउने भएका छन्। नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की, प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी, नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरी हाल प्रतिनिधिसभा सदस्य भएकाले मतदानमा सहभागी हुने छैनन्। साथै, प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका कन्हैया बानियाँ पनि मतदाताको सूचीमा छैनन्।