Monday, March 2, 2026

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान प्रारम्भ


काठमाडौं, ११ माघ - सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ। प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली) मा आज बिहानदेखि मतदान भइरहेको छ।

मतदानको सुरुआत एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेर गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका १७३ जना र प्रदेशसभा सदस्य ५१ जना गरी कुल २२४ जना मतदाता रहेका छन्।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा एकैसाथ मतदान भइरहेको हो। मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि निर्वाचन भइरहेको छ। कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाताका रूपमा सहभागी हुने कानुनी व्यवस्था रहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like